
काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको संघर्षमा जनताको पक्षमा विजय हासिल भएको दाबी गरेका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पूर्ण बैठकमा उनले पछिल्लो राजनीतिक अवस्था, सरकारको कार्यशैली, पार्टीको भूमिका र जनअपेक्षाबारे सांसदहरूसँग विस्तृत छलफल गरेका थिए।
प्रचण्डले अघिल्लो संसद् अधिवेशनमा प्रधानमन्त्री संसदमा जवाफ नदिने अडानमा रहँदा माओवादीको दबाबकै कारण उपस्थित हुन बाध्य पारिएको बताएका छन्। उनले हुलाकी राजमार्ग अभियान, काठमाडौंमा भएको जनप्रदर्शन र समाजवादी मोर्चाभित्रको एकताले पार्टीको प्रभाव बलियो बनाएको उल्लेख गरे।
‘तराई–मधेस जागरण अभियान’मार्फत माओवादीप्रति पुनः जनविश्वास बढेको र नयाँ नेतृत्वको प्रवेशले संगठन सशक्त बनेको उनको भनाइ थियो। उनले शिक्षक, चिकित्सक तथा लघुवित्त पीडितसँग संवाद भइरहे पनि सरकारले समस्या समाधान नगरी उल्टै जटिलता बढाएको आरोप लगाए। संघीय निजामती सेवा ऐन र शिक्षा विधेयक संसद्बाट पारित गर्न सांसदहरू सक्रिय हुनुपर्नेमा उनले जोड दिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे