
पर्सा । पर्सा प्रशासन कार्यालयले हनुमान जन्मोत्सवको अवसरमा उत्पन्न तनावलाई मध्यनजर गर्दै कफ्र्यू आदेश जारी गरेको छ। वीरगञ्जको छपकैयाँ क्षेत्रमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि शनिबार साँझ ६:३० बजेबाट आइतबार बिहान १२:०० बजेसम्मका लागि कफ्र्यू लागू गरिएको हो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) अनुसार जारी गरिएको उक्त आदेशअनुसार, वीरगञ्ज महानगरपालिका भित्रका चारवटै सिमानामा कफ्र्यू लागू हुनेछ। कफ्र्यू अवधिमा कसैलाई पनि ओहोरदोहोर गर्न, भेला, जुलुस, प्रदर्शन, सभा वा कुनै किसिमका सार्वजनिक गतिविधि गर्न अनुमति दिइने छैन।
कफ्र्यू लागू गरिएको क्षेत्र पूर्वतर्फ भेडियाही चौक (वीरगञ्ज-१५) देखि पश्चिमतर्फ सिर्सिया पुल (वीरगञ्ज-२५) सम्म फैलिएको छ। यस्तै, उत्तरमा गण्डक चोकदेखि वीरगञ्ज-१४ र दक्षिणतर्फ शङ्कराचार्य गेट (वीरगञ्ज-१६) सम्म कफ्र्यू लागू गरिएको प्रशासनले जनाएको छ।
उक्त निर्णय हनुमान जयन्तीको शोभायात्राका क्रममा दुई समुदायबीच भएको झडपपछि सुरक्षा अवस्थालाई नियन्त्रणमा लिन गरिएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे