
काठमाडौँ, २१ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहसँग भेट गरेर काठमाडौँको तिनकुने र आसपासका क्षेत्रहरूमा चैत १५ गते भएको घटनाप्रति सरकारको गम्भीर ध्यान आकर्षित गरेको छ।
प्रतिनिधिमण्डलले सो घटनासम्बन्धी विस्तृत छानबिन गर्न र सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ। भेटका क्रममा, अध्यक्ष लिङ्देनले मुलुकमा बढ्दो शान्ति र सुरक्षा समस्याको विषयमा र नागरिक अधिकारको सम्भावित हननको खतराबारे पनि सरकारलाई सचेत पारे।
अध्यक्ष लिङ्देनले भने, “तिनकुने र आसपासका क्षेत्रमा भएको घटनाले जनमानसमा त्रास उत्पन्न गरेको छ। यसलाई सरकारले हल्का रूपमा लिनुहुँदैन। घटनाको निष्पक्ष छानबिन गरि दोषीलाई कानूनी कारबाहीमा ल्याउनु आवश्यक छ।”
कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राप्रपा प्रतिनिधिमण्डललाई घटनाको छानबिन गरेर सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धता जनाए। उनले भने, “सरकार कुनै पनि प्रकारको अन्यायलाई लुकाउने पक्षमा छैन। सत्यतथ्य छानबिन गरेर दोषीलाई आवश्यक कारबाही गरिनेछ।”
यस अघि पनि विभिन्न दल र नागरिक समाजका प्रतिनिधिहरूले तिनकुने घटनाप्रति सरकारको ध्यान आकर्षित गर्दै सुरक्षा व्यवस्थामा सुधारको आवश्यकता रहेको बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे