काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारविरुद्ध कडा अभिव्यक्ति दिएका छन्। सोमबार पार्टीको केन्द्रीय समितिको विशेष बैठकलाई सम्बोधन गर्दै उनले “दुई तिहाइ बहुमतको सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जीत भएको” बताएका छन्।
उनले लोकतन्त्र र गणतन्त्रको आडमा लुटतन्त्र मौलाएको आरोप लगाउँदै यसको खबरदारी गर्न आफू अन्तिमसम्म लडिरहने दाबी गरे। लामिछानेले भने, “सरकारले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरिसकेको छ। यदि म निर्दोष हुँ भने अदालतले धरौटी किन तोक्थ्यो? तपाईंहरूको दुई तिहाइ सरकारले मलाई जिउँदै छोड्नु नै मेरो जीत हो।”
उनले सत्तापक्षको दबाब वा कुनै पनि आरोपका कारण आफू पछि नहट्ने प्रस्ट पार्दै भने, “चाहे जति मुद्दा लगाऊ, चाहे ज्यानै मार, म लडिरहनेछु। म कहिल्यै व्यक्तिगत जीवनको लागि केही माग्दिन। राजनीतिमा प्रवेश नगरेको भए आज यो दु:ख भोग्नु पनि पर्दैनथ्यो। तर, म पछि हट्दिन।”
लामिछानेले आफूविरुद्ध षड्यन्त्रको श्रृंखला जारी रहेको आरोप लगाउँदै सरकारको दबाबका कारण आफू कुनै हालतमा नझुक्ने बताए। उनले थपे, “सरकारको षड्यन्त्र अझै सकिएको छैन। तर, म कहिल्यै हार मान्ने छैन। जुनसुकै आरोप लगाइए पनि, जुनसुकै परिस्थितिमा परीक्षण गरिए पनि, म सधैं न्यायको लडाइँ लड्नेछु।”
उनको भनाइमा सरकारको दोहोरो चरित्रले लोकतान्त्रिक मूल्य–मान्यता कमजोर बनाउँदै लगेको र गणतन्त्रको आडमा अनियमितता संस्थागत हुँदै गएको संकेत थियो। उनले आफ्ना समर्थकहरूलाई न्यायका पक्षमा दृढ रहन आग्रह गर्दै पार्टीको उद्देश्यबाट विचलित नहुन सन्देश दिएका छन्।







