
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गत शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा घटित घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेका छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले घटनाप्रति दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन आवश्यक रहेको बताए। उनले घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक र युवा सविन महर्जनलाई सहिद घोषणा गर्न पनि आग्रह गरेका छन्।
त्यस्तै, रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले तीनकुने घटनामा कुनै एक पक्ष मात्र जिम्मेवार नभएको भन्दै सरकारलाई जवाफदेही बनाउनुपर्ने बताएका छन्। उनले भने, “तीनकुनेमा भएको अराजक गतिविधिप्रति हाम्रो कडा विरोध छ। तर, घटनाका लागि कुनै एक पक्षलाई मात्र दोष दिएर सरकार उम्किन सक्दैन।”
प्रवक्ता झाले ज्यान गुमाएका सविन महर्जनलाई पछाडिबाट गोली लागेको भिडियो सार्वजनिक भइसकेको दाबी गर्दै घटना शंकास्पद भएको उल्लेख गरे। उनले थपे, “महर्जन भागेका थिएनन्, ढुंगा हानिरहेका पनि थिएनन्। पत्रकार सुरेश रजकको मृत्यु समेत रहस्यमय देखिएको छ। त्यसैले, निष्पक्ष र उच्चस्तरीय छानबिन आवश्यक छ।”
सांसद झाले संसद्को गरिमा र संसदीय प्रक्रियाको मर्यादा कायम गर्दै छलफललाई सभ्य र लोकतान्त्रिक रूपमा अगाडि बढाउनुपर्नेमा पनि जोड दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे