
काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको ११ औँ बैठकले दैलेखको आठबीसकोट नगरपालिकाको राकम कर्णालीमा ५० श्यैयाको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको छ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार बसेको बैठकले विगतमा १५ श्यैयाको अस्पताल रहेको उक्त स्थानमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार स्तरोन्नति गर्ने र आवश्यक प्रक्रिया अघि बढाउने कार्ययोजना अनुमोदन गरेको हो।
सो अस्पतालको पूर्वाधार, जनशक्ति र स्रोत सुनिश्चितताका लागि प्रतिष्ठानले नेपाल सरकार तथा अन्य पक्षसँग प्रस्ताव गर्नेछ।
बैठकमा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले सम्बन्धित स्थानीय तहसँग आवश्यक परामर्श तथा सहकार्य गरी अस्पताल स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिए।
उनले प्रतिष्ठानमा नेपाल सरकारले पूर्ण लगानी गरेको उल्लेख गर्दै अस्पतालको स्तरोन्नतिपछि त्यहाँका जनताले सहज स्वास्थ्यसेवा पाउने विश्वास व्यक्त गरे।
सभाको बैठकमा प्रतिष्ठानको चालु आर्थिक वर्षको बाँकी अवधिको बजेट पारित गर्नुका साथै गत आर्थिक वर्षको आन्तरिक लेखा परीक्षकको प्रतिवेदन जानकारी गराइएको छ।
त्यसैगरी, बैठकबाट आगामी आर्थिक वर्षको प्रस्तावित वार्षिक कार्यक्रमसहितको बजेट पारित गरिएको छ भने प्रतिष्ठानको रिक्त सभा सदस्यहरूको मनोनयन गरिएको छ।
बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री एवं सहकुलपति प्रदीप पौडेल, राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा, प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावललगायत सहभागी थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे