
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका कामलाई प्रभावकारी रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। जवाफदेहीता निगरानी समिति र द्वन्द्वपीडित संगठनद्वारा आयोजित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउन आवश्यक सबै सहजीकरण सरकारले गर्ने स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले यसअघि सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगहरूको काम किन प्रभावकारी हुन सकेन भन्ने समीक्षा गरी आगामी दिनमा सफल बनाउन सबै जिम्मेवार पक्ष एकजुट हुनुपर्नेमा जोड दिए। पीडितलाई न्याय र परिपूर्ति दिन सरकार सक्रिय रहेको उल्लेख गर्दै उनले विगतमा भएको अनावश्यक हिंसा दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संसद्बाट सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन सहमतिमै पारित भइसकेको स्मरण गराए।
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी नियुक्तिका लागि गठित सिफारिस समितिको अवधि सकिएपछि प्रमुख दलहरूको परामर्शमा पुनः अर्को सिफारिस समिति गठन गरिएको जानकारी उनले दिए।
प्रधानमन्त्री ओलीले द्वन्द्वका घाउ बिर्सनुपर्ने आवश्यकता औंल्याउँदै शान्ति प्रक्रियाले अझै पूर्णता नपाउँदा नेपाल अन्तर्राष्ट्रिय समुदायसमक्ष असहज परिस्थितिमा परेको बताए। “गम्भीर मानवअधिकार उल्लंघन गर्नेहरू कारबाहीको दायरामा आउँछन्,” उनले भने, “जनयुद्धलाई उत्सवका रूपमा मनाउनु वा सार्वजनिक बिदाको विषय बनाउनु पीडितहरूलाई थप पीडा दिने कार्य हुन सक्छ।”
कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थिति रहेको थियो। प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउन अन्तर्राष्ट्रिय समुदायको निरन्तर सहयोग आवश्यक रहेको बताउँदै नेपालले यसलाई मौलिक तरिकाले समाधान गर्ने प्रयास गरिरहेको उल्लेख गरे।
उनले सरकारका कुनै निकायबाट हटाइएका कर्मचारीहरू र सङ्क्रमणकालीन न्याय प्रक्रिया तुलनायोग्य विषय नभएकाले अनावश्यक रूपमा त्यसलाई जोडेर प्रस्तुत नगर्न आग्रह गरे। साथै, उनले जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र अब कुनै पनि हालतमा पछाडि फर्किन नसक्ने प्रस्ट पारे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे