
काठमाडौं। “हिमनदी संरक्षण” भन्ने नारासहित आज विश्वभर विभिन्न कार्यक्रमद्वारा पानी दिवस मनाइँदै छ। यस अवसरमा नेपाल सरकारले पहिलो पटक पानी सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ। जल तथा ऊर्जा आयोगको सचिवालय र राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासंघको आयोजनामा “प्रथम राष्ट्रिय पानी सम्मेलन” आगामी दिनहरूमा आयोजना गर्ने तयारी गरिएको छ।
आयोगका सचिव मधुप्रसाद भेटुवालले सरकारले पानीलाई उच्च प्राथमिकतामा राखेर विभिन्न गुरुयोजना निर्माण गरिरहेको जानकारी दिएका छन्। उनले नेपालको २१ हिमताल विस्फोटको जोखिममा रहेको र ती हिमतालहरूको संरक्षणको लागि आयोगले काम गरिरहेको बताए। साथै, उनले पानीको उचित प्रयोगको लागि राष्ट्रिय जलस्रोत नीति, २०७७ ल्याइएको र जलस्रोत विधेयक हाल संसदमा विचाराधीन रहेको जानकारी दिए।
जलवायु परिवर्तन, बढ्दो सहरीकरण, वर्षा ढाँचामा आएको परिवर्तन, र पानीको अत्यधिक प्रयोगका कारण पानी संकट बढ्दै गएको उल्लेख गर्दै सचिव भेटुवालले यस पटकको पानी दिवसको मुख्य उद्देश्य हिमनदीको संरक्षणमा जोड दिनु भएको बताए।
विश्व पानी दिवस १९९३ देखि हरेक वर्ष २२ मार्चमा मनाइन्छ र यसले सुरक्षित र स्वच्छ पानीको महत्वमा ध्यान केन्द्रित गर्दै जनचेतना अभिवृद्धि गर्दै आएको छ। यस दिवसले पानीको सही व्यवस्थापनका लागि आवश्यक रणनीतिहरू र कदम चाल्न प्रेरित गर्ने कार्य गरेको छ।
नेपालमा जलस्रोतको उपभोग क्षमता प्रति व्यक्ति ३,६०० घनमिटर भए पनि, हालको उपभोग दर भने ३९३.५ घनमिटर रहेको बताइएको छ। जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएका र त्यसले मानव जीवनमा चुनौती ल्याएको अवस्था रहेको जानकारी दिँदै सम्मेलनका आयोजकहरूले जलस्रोतको संरक्षण र व्यवस्थापनमा प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।
यस वर्षको पानी दिवस विशेष गरी हिमनदीको संरक्षणमा केन्द्रित गरिएको छ, र सरकारले यस सम्मेलनमार्फत जल र ऊर्जा क्षेत्रको समन्वय र नीतिगत छलफललाई सशक्त बनाउन कोशिष गरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे