
काठमाडौं । नागरिक लगानी कोषले लगानी विविधीकरण, डिजिटलाइजेसन र अटोमेसनलाई उच्च प्राथमिकतामा राखेको छ । कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषको ३५औं वार्षिकोत्सवको अवसरमा दिएको अन्तर्वार्तामा यसो बताएका छन् । उनले कोषले आर्थिक वर्ष २०८०/८१ को वार्षिक साधारणसभा पुस मसान्तभित्रै सम्पन्न गरेको र यसले पारित गरेको वित्तीय विवरण बारे पनि जानकारी दिएका छन् ।
कार्कीका अनुसार, कोषले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्रै साधारणसभा सम्पन्न गर्ने लक्ष्य राखेको थियो । यसका लागि बाह्य लेखा परीक्षण समयमै सुरु गरिएको र सम्बन्धित कर्मचारीले अथक मिहिनेत गरेका थिए । यसको परिणामस्वरूप, पुस मसान्तभित्रै साधारणसभा सम्पन्न गर्न सफल भएको उनले बताए ।
साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृत गरेको र ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १३ प्रतिशत लाभांश स्वीकृत गरेको छ । कोषको चुक्ता पुँजी ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ पुगेको छ भने सहभागी कोष २ खर्ब ३६ अर्ब र लगानी २ खर्ब ४८ अर्ब रहेको छ । केन्द्रीय हिसाबतर्फ १ अर्ब १५ करोड खुद नाफा भएको छ ।
कार्कीले कोषले हाल सञ्चालन गरिरहेका योजना र कार्यक्रमबारे पनि जानकारी दिए । उनका अनुसार, कोषले कर्मचारी बचत वृद्धि अवकाश कोष, उपदान तथा पेन्सन योजना, लगानीकर्ता हिसाब योजना, राष्ट्रसेवक कर्मचारी जीवन बीमा कोष, नागरिक एकांक योजना, नागरिक पेन्सन योजना र नेपाल कृषि अनुसन्धान परिषद् बीमा कोष लगायतका योजना सञ्चालन गरिरहेको छ ।
नागरिक पेन्सन योजनामा सबै नेपाली नागरिक सहभागी हुन सक्ने व्यवस्था रहेको उनले बताए । यस योजनामा गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई समेत समावेश गरिएको छ । सहभागीले ६० वर्ष पुगेपछि मासिक पेन्सन वा एकमुष्ट रकम फिर्ता लिन सक्ने व्यवस्था रहेको छ ।
कोषले लगानी विविधीकरणलाई प्राथमिकतामा राखेको छ । कार्कीका अनुसार, कोषले मुद्दती निक्षेपमा धेरै लगानी गरेकोमा यसलाई घटाउँदै अन्य क्षेत्रमा लगानी बढाउने योजना रहेको छ । उत्पादनशील क्षेत्र, पुँजी बजार, सरकारी ऋणपत्र, जलविद्युत् परियोजना लगायतमा लगानी बढाउने योजना रहेको उनले बताए ।
लगानी जोखिम व्यवस्थापनका लागि कोषले विभिन्न मापदण्ड अपनाएको छ । निक्षेप, सेयर, कर्जा र परियोजना लगानीका लागि समग्र वित्तीय र गैरवित्तीय विश्लेषण गरिन्छ भने सुरक्षित लगानीलाई प्राथमिकता दिइन्छ ।
कोषले पुँजी बजार विकासमा पनि महत्वपूर्ण भूमिका खेलिरहेको छ । कार्कीका अनुसार, कोषले मर्चेन्ट बैंकको रूपमा सेवा प्रदान गर्ने, सेयर, बन्ड, डिबेन्चरमा लगानी गर्ने र दोस्रो बजारमा सेयर कारोबार गर्ने गरेको छ । सहायक कम्पनी नागरिक स्टक डिलरले पनि पुँजी बजार विकासमा योगदान दिइरहेको छ ।
कोषले सेवालाई चुस्त र सहज बनाउन डिजिटलाइजेसन र अटोमेसनलाई प्राथमिकतामा राखेको छ । कार्कीले सहभागीले अनलाइन आवेदन दिने, किस्ता भुक्तानी गर्ने र विवरण अपडेट गर्ने सुविधा उपलब्ध गराएको बताए । कोषले भविष्यमा कृत्रिम बौद्धिकता (AI) को प्रयोग गर्ने योजना बनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे