
काठमाडौँ, २७ नवम्बर – कर्णाली याक्सले हालै हङकङका अनुभवी क्रिकेटर बाबर हायतलाई आफ्नो टोलीमा अनुबन्ध गरेको छ। मङ्गलबार अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन भएका बाबरलाई कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सह–मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरे।
३२ वर्षीय बाबर हायत हङकङका प्रमुख अन्तर्राष्ट्रिय खेलाडी हुन्, जसले ७९ टी–२० आई खेलमा १,९१० रन बनाएका छन् र उनको स्ट्राइक रेट १३२.२७ रहेको छ। बाबरले दुई सतक र १० अर्धसतक बनाएका छन्। उल्लेखनीय छ कि उनले सन् २०२४ मा नेपालविरुद्ध ११० रनको शानदार पारी खेलेका थिए।
कर्णाली याक्सले यस सिजनमा अन्य प्रमुख विदेशी क्रिकेट खेलाडीहरूलाई पनि अनुबन्ध गरेको छ। गत हप्ता, कर्णाली याक्सले भारतीय क्रिकेट स्टार शिखर धवनलाई टोलीमा सामेल गरिसकेको छ। धवन नेपाल क्रिकेट प्रिमियर लिग (NPPL) मा सबैभन्दा ठूलो नामका रूपमा खेल्न आउनु भएको छ। यसैगरी, वेस्ट इन्डिजका पूर्व टेस्ट क्रिकेटर चादविक वाल्टन, हङकङका बाबर हायत र ओमानका पूर्व कप्तान जिसन मक्सूद पनि कर्णाली याक्सको टोलीमा रहेका छन्।
कर्णाली याक्सको टोलीमा नेपालका राष्ट्रिय टोलीका सदस्य गुल्सन झा, देव खनाल र नन्दन यादवसँगै ‘बी’ श्रेणीका अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की पनि रहेका छन्। ‘सी’ श्रेणीमा दीपेन्द्र रावत, युनिस विक्रमसिंह ठकुरी र दीपक डुम्रे छनोट भएका छन्। साथै, ट्यालेन्ट हन्टमार्फत विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयरको रूपमा चयन गरिएको छ।
यसका साथै, कर्णाली याक्सले नेपालकी चर्चित कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’को रूपमा नियुक्त गरेको छ। युथ एम्बेसडरमा सिसन बानियाँ छन् र हस्पिटालिटी पार्टनरको रूपमा होटल हिल्टनसँग सम्झौता गरिएको छ।
कर्णाली याक्सको पहिलो खेल १५ मङ्सिरदेखि सुरु हुने प्रतियोगितामा जनकपुरसँग हुनेछ। प्रतियोगिता पुस ६ सम्म जारी रहनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे