
काठमाडौं,२८ साउन। पेरिस ओलम्पिक २०२४ सकिएको छ । गएको जुलाई २६ मा औपचारिक रुपमा शुरु भएको यस ओलम्पिकमा अमेरिका र चीनले बराबरी स्वर्ण पदक जितेका छन् ।
तर अमेरिका पदक तालिकाको शिर्ष स्थानमा रह्यो । कुल १ सय २६ पदक हात पारेको अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कांस्यसहित शीर्षस्थानमा रहन सफल भएको हो । टोकियो ओलम्पिकमा अमेरिकाले ३९ स्वर्णसहित एक सय १३ पदक जितेको थियो ।
यसअघि ४० स्वर्ण पदकसहित शीर्षस्थानमा रहेको चीन भने दोस्रोमा झरेको हो । उसले ४० स्वर्णसहित २७ रजत र २४ कांस्य गरी कुल ९१ पदक जितेको छ । प्रतियोगिताको अन्तिम दिन हिजो १३ स्वर्णको लागि प्रतिस्पर्धा भएको थियो ।
अन्तिम दिन दुई पदक जितेर जापान तेस्रो भएको छ । उसले २० स्वर्णसँगै १२ रजत र १३ कांस्य गरेर ४५ पदक जितेको हो । अस्ट्रेलिया १८ स्वर्ण, १९ रजत र १६ कांस्य गरी ५३ पदक जितेर चौथो भएको छ ।
आयोजक फ्रान्स पाँचौँ स्थानमा पुगेको छ । कुल ६३ पदक जितेको फ्रान्सले १६ स्वर्ण जितेको छ । पेरिस ओलम्पिक २०२४ मा सहभागी २ सय ६ मध्ये ६२ देशले स्वर्ण पदक जितेका छन् भने ९१ देशले पदकको खाता खोलेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे