
काठमाडौँ, १८ फागुन । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले पहिलो जित दर्ता गराएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले नामिबियामाथि ३ रनको रोमाञ्चक जित दर्ता गराएको हो।
नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा १ सय ७७ रन मात्र बनाउन सक्यो।
नामिबियालाई जितका लागि अन्तिम ओभरमा १२ रन आवश्यक थियो। करण केसीले ८ रन दिएर एक विकेट लिए।
योसँगै नेपालले पहिलो खेलमा ब्यहोरेको हारको बदला पनि लिन सफल भएको छ।
नामिबियाको इनिङ्समा कप्तान जेजे स्मिथले अर्धसतकीय इनिङ्स खेले। २६ बलमा उनले ६ चौका र दुई छक्का प्रहार गरेका हुन्। जान फ्रेलिन्कले ३७, जेपी कोट्जेले २५ रनको योगदान गरेका हुन्।
नेपालको लागि सोमपाल कार्मी, करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए । अभिनाश बोहराको नाममा एक विकेट रह्यो। प्रतिश जिसी र कप्तान रोहितकुमार पौडेल भने विकेट विहिन भएका छन्।
नेपालको इनिङ्समा अलराउन्डर कुशल मल्लले ३७ बलमा ५५ रन बनाए । उनले आक्रामक ब्याटिङ गर्दै एक चौका र चार छक्का प्रहार गरेका हुन्। उनको करियरको यो चौथो अर्धसतक हो ।
आरिफ शेखले २४ बलमा चार चौकासहित ३१ रन बनाए। गुल्शन झाले एलबीडब्लु धरापमा पर्दा २६ रनको योगदान गरेका हुन्। दीपेन्द्रसिंह ऐरी पनि ८ बलमा १६ रन बनाउँदा एलबिडब्लु धरापमा परे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे