
काठमाडौँ, १७ भाद्र । आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ।
आइतबार भएको खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको हो। जितको लागि ४० रनको सामान्य लक्ष्य पाएको नेपालले १३।२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले १२ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका चार खेलाडी शुन्य रनमा आउट भएका थिए। भुटानका लागि अन्जली घलेले ३ तथा छिरिङ जानगेम्बाले २ विकेट लिइन् । अन्जु गुरुङ, र सोनमले समान १र१ विकेट लिइन्।
यसअघि भुटानले ८ विकेटको क्षतिमा ३९ रन बनाएको थियो ।भुटानका लागि दिचेन वाङ्मोले २१ रन जोड्नु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । भुटानका ४ जना खेलाडी शून्य रनमा आउट भएका थिए । दुई जनाले १–१ रन जोडे भने एक जनाले ३ रन मात्रै बनाए ।
टस जितेर पहिलो बलिङ गरेको नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् । यस्तै कविता कुँवर, रुविना क्षेत्री र खुसी डंगोलले १–१ विकेट लिए ।
एसिया छनोट खेलमा लगातार तेस्रो जितका साथ नेपाल समूह ए को शीर्षस्थानमा उक्लिएको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो। नेपालले चौथो खेलमा सोमबार कतारसँग खेल्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएईसँग खेल्नेछ।
प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ। सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ। प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे