
काठमाडौँ, १९ साउन । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवं खेलाडी ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।
नेपालका सबै उमेर समूह र राष्ट्रिय टिम गरी १८ वर्ष क्रिकेट खेलेका ज्ञानेन्द्रले काठमाडौंमा पत्रकार सम्मेलन गरेर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
केही समयअघि पनि सन्यास लिने विषयमा सोचेको तर, आफूले सन्यास लिँदा टोलीलाई असर नपरोस भनेर धैर्य गरेको उनले बताए।
‘राष्ट्रको आशा र सपनाको प्रतिक बनेर मैदानमा उत्रिँदा सतप्रतिशत दिने प्रयास गरेँ । आएका कठिन परिस्थितलाई सिकाइका रुपमा लिएँ । समग्रमा निकै सन्तुष्ट छु, मल्लले भावुक हुँदै भने, ‘यो मेरो बिदाइ हैन, यो मेरो अर्को सुरुवात हो।’
उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्ण विराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने निर्णय लिएको बताए ।
१० वर्ष कप्तानी गरेका पारस खड्काले राजीनामा दिएपछि ज्ञानेन्द्रलाई नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान नियुक्त गरेको थियो। तर उनलाई क्यानले २०७८ मंसिर २९ मा कप्तानबाट हटाएको थियो । ज्ञानेन्द्रलाई कप्तानबाट हटाएपछि क्यानले सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाउने निर्णय गरेको थियो।
पारसले दुई वर्षअघि आजकै दिन (साउन १९ गते) राष्ट्रिय टीमबाट सन्यास घोषणा गरेका थिए।
ज्ञानेन्द्र सन् २००५ मा नेपालको यू–१५ टिममा परेका थिए । २००६ देखि राष्ट्रिय टिममा डेब्यु गरेका मल्लले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफर्यसमा आयरल्यान्डसँग नेपालका लागी अन्तिम खेल खेलेका थिए ।
ज्ञानेन्द्रले नेपालका लागि ३७ वटा एक दिवसीय र ४५ वटा टी–२० आई क्रिकेट खेलेका छन् । उनले ७७ वटा लिस्ट ए क्रिकेटमा १ हजार ८०२ रन बनाएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे