
काठमाडौँ, २१ असार ।राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ ।
नतिजा सार्वजनिक गर्न अपराह्न बोर्ड बैठक बोलाइएको छ ।
बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले कुनै समस्या नआए बिहीबार नतिजा सार्वजनिक गरिने जानकारी दिनुभयो ।
२०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित थिए ।
तीमध्ये सबैभन्दा बढी बागमती प्रदेशका एक लाख दुई हजार परीक्षार्थी छन् भने सबैभन्दा कम कर्णाली प्रदेशका ३८ हजार ६०८ परीक्षार्थी सम्मिलित भएका थिए ।
यसअघि बोर्डले यस पटकको नतिजा पनि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार सार्वजनिक गर्ने निर्णय गरेको थियो । २०७८ साल पुस ७ गते सो निर्देशिका जारी भएको थियो ।
निर्देशिकामा न्यूनतम ३५ प्रतिशत प्राप्त नगर्नेको प्रमाणपत्र अवर्गीकृत गर्ने प्रावधान रहेको थियो ।
सोही वर्षको फागुन १७ गते निर्देशिकामा पहिलो संशोधन गरी २०८० सालको एसईईबाट मात्र सो प्रावधान लागू गर्ने व्यवस्था गरियो ।
२०७९ सालको एसईईका हकमा साबिकको निर्देशिकाबमोजिम मूल्याङ्कन गरी नतिजा सार्वजनिक गरिनेछ ।
सुचना अनुसार नतिजा प्रकाशनका लागि रीतपूर्वक निवेदन दिएका १६ वटा र तीनवटा बोर्डकै संस्थाले बेवसाइट, एसएमएस र आइभिआरबाट नतिजा प्रकाशन गराउने छन् ।
यो वर्ष बोर्डका साथै नेपाल टेलिकम, एनआइसी एसिया बैंक, इडियु सञ्जाल, कान्तिपुर पब्लिकेसन्स, द कनेक्ट प्लस प्रालि, खल्ती प्रालिलगायत संस्थारफर्मले वेबसाइटमार्फत नतिजा उपलब्ध गराउनेछन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे