
काठमाडौँ, १९ असार । एकदिवसीय विश्वकप छनोटको सुपर सिक्स चरणको खेलमा नेदरल्यान्ड्सले ओमानलाई डकवर्थ लुइस विधिद्वारा ७४ रनले पराजित गर्दै भारतमा अक्टोबर ५ देखि हुने प्रतियोगिताको आफ्नो आशा जीवित राखेको छ । वर्षाले प्रभावित खेलमा पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४८ ओभरमा ७ विकेट गुमाएर ३६२ रन बनाएको थियो ।
खराब प्रकाशका कारण खेल रोकिएको बेला ओमानले ४४ ओभरमा ६ विकेट गुमाएर २४६ रन बनाएको थियो । यसअघि नै विश्वकप छनोटको दौडबाट बाहिरिएको ओमानको टोली अहिले डकवर्थ मेथडले लक्ष्यभन्दा ७५ रन टाढा थियो ।
ओपनर विक्रमजीत सिंहले १०९ बलमा ११ चौका र २ छक्का प्रहार गर्दै १ सय १० रन बनाएर ठूलो स्कोरको जग राखेका थिए । उनले म्याक्स ओडाउड (३५ रन) सँग पहिलो विकेटका लागि ११७ रन र वेस्ली बरेसीसँग दोस्रो विकेटका लागि ८० रनको साझेदारी गरे। बारेसीले ६५ बलमा १० चौका र तीन छक्का प्रहार गर्दै ९७ रन बनाए । ब्याड डी लेइडे (१९ बलमा ३९ रन) र साकिब जुल्फिकार (१७ बलमा ३३ रन)ले पनि आक्रामक पारी खेल्दै टोलीको स्कोर ३६० भन्दा माथि पुर्याएका थिए ।
ओमानका बिलाल खानले तीन तथा मोहम्मद नदीमले दुई विकेट लिए । लक्ष्य पछ्याउने क्रममा अयान खानले ९२ बलमा अविजित १०५ रन बनाए पनि ओमानका अन्य ब्याट्सम्यानको राम्रो साथ पाएनन् । दायाँ हाते अफ स्पिनर आर्यन दत्तले १० ओभरमा ३१ रन दिएर तीन विकेट लिए भने फास्ट बलर रायन क्लेनले दुई विकेट लिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे