२०८० मंसिर २१, बिहिबार
काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आजदेखि पूर्ण रूपमा व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको छ । ४५६ मेगावाट क्षमताको आयोजना पूर्ण क्षमताका साथ सञ्चालनमा आएको हो ।
प्राकृतिक विपद्, सीमा नाकामा भारतले गरेको अवरोध, गोरखा भूकम्प, कोरोना कहरलगायत सबै समस्यालाई छिचोलेर आयोजना सफल भएको हो । स्वदेशी लगानीमा निर्माण भएको हालसम्मकै ठूलो आयोजनाले सफलताका साथ व्यावसायिक उत्पादन थालेको अपर तामाकोसी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।
दोलखाको बिगु गाँउपालिका–१ मा रहेको आयोजनाको व्यावसायिक उत्पादन सुरु गरिएको दिन बौद्ध परम्पराअनुसार स्थानीय लामामार्फत शान्ति स्वस्ति गर्दै आयोजनाको सफलताको कामना गरियो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सार्वजनिक गरेको भिडियोमा आयोजनाको पूर्ण सफलताको कामना गर्दै लामा गुरुले आयोजनाले देशकै लागि उज्यालो छर्ने काम गरोस् भन्ने कामना गरेका थिए ।
सो आयोजनाको उद्घाटन गत असार २१ गते गरिएको थियो । आयोजनाबाट उत्पादित बिजुली ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन हुँदै रामेछापको मन्थली नगरपालिका १३ स्थित साँखेमा नवनिर्मित २२०/१३२ केभी क्षमताको न्यून खिम्ती सबस्टेसनमा जोडिएको छ । सो सवस्टेशन हुँदै बिजुली ढल्केबरस्थित नेपाल विद्युत् प्राधिकरणको ४०० केभी क्षमताको सबस्टेसनमा जोडिएको छ ।
२०६८ भदौ १७ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेका थिए । आयोजना निर्माण सकिन ११ वर्ष लाग्यो । मुख्य सुरुङको संरचना निर्माणको डिजाइनमा भएको परिवर्तन, २०७२ सालको गोरखा भूकम्प, सीमा नाकामा भारतले गरेको अवरोध, लामोसाँघु चरीकोट सडक स्तरोन्नतीका कारण निर्माण सामग्री ढुवानीमा भएको अवरोध, हाइड्रोमेकानिकल कार्यका ठेकेदारको कमजोर कार्यसम्पादन तथा कोरोनाका कारण आयोजना निर्माणमा ढिलाइ हुन पुग्यो ।
आयोजना अर्धजलाशयुक्त प्रकृतिको भएकाले पनि बढी बिजुली माग हुने साँझको समयमा औसतमा चार घन्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ ।
आयोजनाको सुरुआती लागत निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड रहेको भए पनि डिजाइनमा गरिएको परिवर्तन, निर्माण अवधि लम्बिँदा प्रशासनिक र परामर्शदातको खर्चमा भएको बढोत्तरी, बजार मूल्यमा भएको वृद्धिका कारण निर्माण सामग्रीमा परेको प्रभावका कारण लागत बढ्न गयो । आयोजनाका अनुसार विविध कारणले गर्दा लागत ५२ अर्ब पुगेको छ ।
सुरुआती चरणमा निर्माण अवधिको ब्याज १४ अर्ब लाग्ने अनुमान गरिएकामा निर्माण अवधि बढ्दै जाँदा ब्याज मात्रै ३२ अर्ब पुगेको छ । यस आधारमा आयोजनाको कूल लागत ८४ अर्ब पुगेको छ । आयोजनाले वार्षिक रूपमा दुई हजार २८१ गिगावाट घन्टा ऊर्जा उत्पादन गर्छ । त्यो भनेको कूल दुई अर्ब २८ करोड युनिट बिजुली हो । आयोजना अर्धजलाशयुक्त प्रकृतिको भएकाले पनि बढी बिजुली माग हुने साँझको समयमा औसतमा चार घन्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ ।
सन् १९९९ मा अस्ट्रियन नागरिक डा क्रिस्चियन कल्हरले रोलवालिङ जलविद्युत् आयोजनाको नामबाट पूर्वसम्भाव्यता अध्ययन गरी १२० मेगावाट क्षमता बराबरको बिजुली उत्पादन हुने प्रारम्भिक जानकारी गरेका थिए । अत्यन्तै सस्तो र आकर्षक देखिएपछि प्राधिकरणले २०५७ देखि २०६० सम्म आफ्नै आर्थिक, भौतिक र मानवीय स्रोतको प्रयोग गरेर आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो ।
आयोजनामा प्राधिकरणको ४१ प्रतिशत सेयर छ । आयोजनाबाट उत्पादित बिजुली प्रतियुनिट लागत औसतमा तीन रुपैयाँ ५० पैसा रहेको छ । व्यापारिक उत्पादन भएको वर्ष औसतमा चार रुपैयाँ ६ पैसा प्रतियुनिटमा खरिद गर्ने सम्झौता भएको छ । प्राधिकरण र अपर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेड कम्पनीबीच भएको सम्झौताअनुसार आयोजनाबाट उत्पादित बिजुलीको खरिददर हालसम्मकै सस्तो हो ।
रुग्ण अवस्थामा रहेको आयोजनालाई प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पहिलो कार्यकालमा हरेक महिना आयोजनास्थल नै पुगेर सहजीकरण गरेका थिए । आयोजनाका निर्माण व्यवसायीलाई परिचालन गर्नेदेखि सम्बद्ध कर्मचारीलाई आड भरोसा प्रदान गर्ने काममा समेत उनले विशेष पहल गरे । तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले आयोजनाको हरेक काममा उत्तिकै प्रयत्न गरेका थिए । सोही प्रयत्नका कारण आयोजना पूर्णरूपमा सफल भएको र व्यावसायिक रूपमा उत्पादन सुरु भएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे