
काठमाडौँ , २२ असोज । गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र डाइभर्जनसहित बीपी राजमार्गमा सवारी चलाउने व्यवस्था गर्न सकिने बताएका छन्। उनले मंगलबार बाढी र पहिरो प्रभावित जिल्ला सिन्धुलीको खुर्कोट क्षेत्रको निरीक्षणका क्रममा यो जानकारी दिएका हुन्। लेखकले अतिभारी वर्षाले बीपी राजमार्गमा धेरै क्षति पुर्याएको उल्लेख गर्दै अस्थायी रूपमा सडक विभाग र नेपाली सेनाको सहयोगमा सवारी सञ्चालन गर्न लागिएको बताए।
उनले भने, “बीपी राजमार्गमा ठूलो क्षति भएको छ, तर एक हप्ताभित्र डाइभर्जनसहित सवारी चलाउन सकिनेछ। यहाँका अवरुद्ध भित्री सडक र पुल निर्माणमा सेनाको ठूलो भूमिका रहेको छ।” विपद्को समस्याबाट जोगिन सरकार र सबै नागरिक एकजुट हुनुपर्नेमा जोड दिँदै उनले भने, “सरकार भनेको सबैको अभिभावक हो।”
गृहमन्त्री लेखकले भने, “यो समस्यामा कुनै राजनीति छैन। तीनवटै सरकार र सबै राजनीतिक दल, गैरसरकारी संस्थाले मिलेर यो विपद्को समस्या समाधान गर्नुपर्छ।” उनले पालिकाहरुलाई चाँडो लाभग्राही विवरण पठाउन पनि आग्रह गरे। राहतका लागि रु १५ देखि २० हजार र अस्थायी आवास निर्माणका लागि पहिलो किस्तामा २५ हजार दिनुपर्ने कुरा उनले स्पष्ट गरे।
सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरका प्रभावित क्षेत्रको अनुगमन गर्न गृहमन्त्री लेखकसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देलको टोली उपस्थित थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे