
काठमाडौँ , ३१ चैत । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसकै कारण देशका पहाडी भू–भागहरूमा आंशिकदेखि साधारणतया बदली देखिएको छ भने बाँकी भू–भागहरूमा आंशिक बदलीको अवस्था छ।
आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भू–भागहरूमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य क्षेत्रहरूमा आंशिक बदलीको अवस्था कायम रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरू तथा अन्य क्षेत्रका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको जनाइएको छ।
आज राति पनि पहाडी भू–भागहरूमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य क्षेत्रहरूमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरूमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे