
काठमाडौं । अहिले देशभर पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार, वर्तमानमा तराईका केही भागमा हुस्सु लागेको छ भने कोशी प्रदेश लगायतका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहेको छ। बाँकी देशका क्षेत्रहरूमा मौसम प्रायः सफा देखिएको छ।
महाशाखाका अनुसार, आज दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भागमा आंशिक बदली रहने छ भने बाँकी स्थानहरूमा मौसम सफा रहनेछ। उच्च पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसँगै देशका पहाडी भागमा आंशिकदेखि साधारण बदली रहनेछ। बाँकी भागमा पनि आंशिक बदली रहनेछ। उच्च पहाडी र हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना यथावत् रहेको छ।
बिहान समयतिर तराईका केही स्थानहरूमा हुस्सु लाग्ने सम्भावना रहेकोले महाशाखाले जनजीवन, स्वास्थ्य, सडक र हवाई उड्डयनमा आंशिक प्रभाव पर्नसक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे