
काठमाडौँ , भदौ १६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पार्टीभित्र एउटा सिस्टम बसालेर अर्को भूमिकामा जाने सोचमा रहेको बताएका छन् । प्रेस सेन्टर नेपाल बाँकेले आइतबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् ।
प्रचण्डले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र भएको बताएका छन् । उनले नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्ष पूरा गरेर आएको हुनुपर्ने उल्लेख गर्दै आजका दिनमा माओवादी नै नयाँ शक्ति भएको बताए । “पार्टी नेतृत्व भनेको आन्दोलन र इतिहासको मूल्याङ्कनबाट तय हुन्छ, विधिबाट आउँछ, सधैँ म मात्र नेतृत्वमा बसिरहनुपर्छ भन्ने होइन, एउटा सिस्टम बनाएर उत्तराधिकारी तयार गर्ने विषयमा छलफल भइरहेको छ ।”
उनले भने , “पार्टीको आवश्यकता, साथिहरुको जोडबल र जनभावनाले गर्दा ३५र३६ वर्षदेखि मैले नेतृत्व गरिरहेको छु, अब सिस्टम बनाएर अर्को भुमिकामा जाने सोचमा छु ।” उनले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको र पार्टी झन एकढिक्का भएको बताए ।
प्रचण्डले भने– ‘हामीले एजेण्डा उठाएनौं मात्रै, त्यसलाई आन्दोलनबाट स्थापित गरेर संविधानमा लिपिबद्ध गरेका छौं । संविधान कार्यान्वयन गरेर हामीले उठाएका राजनीतिक एजेण्डामार्फत जनताको जीवन बदल्न पनि फेरि माओवादी नै चाहिन्छ ।’ आजको कालखण्डमा जनताको पक्षमा केही गर्ने र गर्दै आएको शक्ति नै नयाँ शक्ति हो, त्यो एजेण्डा माओवादीसँग मात्रै रहेको उनले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे