
काठमाडौँ , ३० माघ ।उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा शिक्षा क्षेत्रमा ठूलो सुधार भएको बताएका छन्। बुधबार नेपाल विद्यार्थी संघ ९नेविसंघ० पाटन संयुक्त क्याम्पस इकाइद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले अब नेपालमै उत्कृष्ट विश्वविद्यालयहरूको पाठ्यक्रम अध्ययन गर्ने अवसर प्राप्त भएको बताए। उनका अनुसार, पहिले विद्यार्थीहरूले अध्ययनका लागि सीमित विषय मात्र पाउने गर्थे, तर अहिले धेरै विकल्प उपलब्ध छन्।
उपप्रधानमन्त्री सिंहले आफू विद्यार्थी हुँदा विज्ञान, कमर्श र आर्ट्सका विकल्पहरू मात्र उपलब्ध भएको र अहिले नेपालका विश्वविद्यालयहरूमा पनि विश्वस्तरीय पाठ्यक्रमहरू पढाइने बताए। उनले वर्तमान विद्यार्थीहरूले धेरै विषय छानेर अध्ययन गर्न सक्ने अवस्था भएकोमा खुशी व्यक्त गर्दै, यो अवसरको सदुपयोग गर्न आग्रह गरे ।
साथै, उनले गुनासो गर्नभन्दा उपलब्ध अवसरहरूको अधिकतम उपयोग गरेर लक्ष्य प्राप्त गर्ने महत्त्वमा जोड दिएका छन्। उनका अनुसार, अध्ययनका लागि विभिन्न विकल्प र अवसरहरू उपलब्ध छन्, जसलाई ध्यानपूर्वक उपयोग गर्दा व्यक्तिको भविष्य उज्ज्वल बनाउन सकिन्छ।
कार्यक्रममा उपप्रधानमन्त्री सिंहले पाटन संयुक्त क्याम्पसमा नेविसंघको पहलमा बनाएको पुस्तकालय पनि हस्तान्तरण गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे