
काठमाडौँ, असोज २ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समयमै कानुन बन्न नसक्दा सङ्घीयता कार्यान्वयनमा चुनौती भइरहेको बताएका छन् । । संविधान दिवसको सन्दर्भमा आयोजित संविधान कार्यान्वयनको वर्तमान अवस्था विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् । संविधानको कार्यान्वयन गर्दै अघि बढ्ने बेला पछि फर्किने सोच र तर्कलाई संविधान निर्माणकर्ता र संविधानले नै स्वीकार नगर्ने उनले बताए ।
उनले भने , “पछि फर्कने वा पश्चगामी सोचका साथ आउने तर्कहरू अग्रगामी संविधान निर्माण गर्नेहरू र यो संविधान स्वयंका लागि मान्य हुनै सक्दैनन् ।’’ अध्यक्ष दाहालले सरकार, संसद् र सबै तहका जनप्रतिनिधिहरू संविधान कार्यान्वयनका काममा गम्भीर भएर लाग्नुपर्ने साथै सङ्घीयताका कारणले जनताले पाउनुपर्ने सेवा सुविधा नपाउँदा देखिने असन्तुष्टिको सम्बोधन गर्न ढिलाइ गर्न नहुने उनको तर्क थियो ।
संविधान कार्यान्वयनका आठ वर्षमा दुईरदुई पटक सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनमार्फत जनादेश लिएर राज्य सञ्चालन भइरहेको बताउँदै अध्यक्ष दाहालले देशलाई सङ्घीयकरण गर्ने, सामाजिक संरचनाहरूलाई गणतान्त्रिकरण गर्ने कामले संविधान कार्यान्वयनलाई सफल बनाउँदै लगेको बताए ।
पछि पारिएका वर्ग, लिङ्ग, जाति र समुदायले राज्यका हरेक संरचनामा सहभागी हुन पाउने अधिकार स्थापित गर्नु संविधानको मुख्य उपलब्धि भएको अध्यक्ष दाहालले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे