
काठमाडौं, असार १० । विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोमा प्रचलित कानूनबमोजिम निज स्वतः निलम्बनमा परेका मुख्य सचिव बैकुण्ठ अर्याल डा। वैकुण्ठ अर्यालको राष्ट्रिय योजना आयोगमा सरुवा भएको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले निलम्बित मुख्यसचिव अर्याललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी सरुवा गरेको हो।
उनी निलम्बनमा परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव लिलादेवी गड्तौलालाई उनको जिम्मेवारी दिएको छ । अन्तशुल्क स्टिकर खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा। बैकुण्ठ अर्याललगायत १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले जनही ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो मागदाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। उक्त बिगो प्रतिवादी अर्यालसहित १२ जनाबाट असुल गर्न अख्तियारले माग गरेको छ। मुद्दा दर्ता हुनासाथ मुख्यसचिव डा। अर्याल स्वतः निलम्बनमा परेका छन् ।
अख्तियारले दायर गरेको मुद्दामा आन्तरिक राजस्व विभागका महानिर्देशक रहेर अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, आन्तरिक राजस्व विभागका तत्कालीन उपमहानिर्देशक हाल भन्सार विभागका उपमहानिर्देशक टङ्कप्रसाद पाण्डे, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, आन्तरिक राजस्व कार्यालय लाजिम्पाटमा तत्कालीन निर्देशक गणेशविक्रम शाही, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, रविन्द्रप्रसाद पौडेल, लेखा अधिकृत विष्णुप्रसाद गौतम, सुरक्षण मुद्रण केन्द्रका शाखा अधिकृत हरिवल्लभ घिमिरे, सुरक्षण मुद्रण केन्द्र सिंहदरबारकै तत्कालीन तत्कालीन खरिद परामर्श दाता शक्तिप्रसाद श्रेष्ठ, प्रिन्ट सेल्स प्रा।लिका निर्देशक केशव शर्मा र यो कम्पनीलाई विपक्षी बनाएर १२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । पौडेलविरुद्ध यसअघि पनि अख्तियारले सुरक्षण मुद्रण प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे