
काठमाडौं । काठमाडौंमा लुटपाटमा संलग्न समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार राति काठमाडौंको मुलपानी क्षेत्रमा लुटेरा समूहका सदस्यलाई पक्राउ गर्ने प्रयास गर्दा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले गोली चलाउनुपरेको हो।
प्रहरीका अनुसार लुटपाटमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने क्रममा उनीहरूले प्रहरीमाथि आक्रमण गरेका थिए। आक्रमणपछि आत्मरक्षाका लागि गोली चलाइएको प्रहरीले जनाएको छ। घटनामा एक जना लुटेरा घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको र हाल ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। घाइतेको अवस्था सामान्य रहेको बताइएको छ।
प्रहरीले हालसम्म काठमाडौंका विभिन्न स्थानबाट लुटपाटमा संलग्न १० जनालाई नियन्त्रणमा लिइसकेको जनाएको छ। तीमध्ये दुई जनालाई मुलपानी क्षेत्रमा पक्राउ गर्ने क्रममा प्रहरीमाथि आक्रमण भएको थियो। प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति मोटरसाइकल प्रयोग गरी लुटपाट गर्ने समूहका सदस्य हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे