
काठमाडौँ , असोज १० । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ। निर्वाचन आयोगले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्न सकिने जानकारी दिएको छ।
आयोगका सहसचिव र प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार, मङ्सिर २ गते बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिन्छ।
मङ्सिर ३ गते उम्मेदवारको विरोधमा उजुरी दर्ता गर्न सकिनेछ, र उजुरीहरूको जाँचबुझ गरेर निर्णय मङ्सिर ४ गते बेलुकासम्म गर्नु पर्नेछ।
यसैगरी, उम्मेदवारले मङ्सिर ५ गते दिउँसो १ बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्छन्। सोही दिन अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिनेछ र निर्वाचन चिह्न पनि वितरण गरिनेछ। मतदान मङ्सिर १६ गते बिहान ७ देखि साँझ ५ बजेसम्म हुनेछ।
मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडि अर्थात् मङ्सिर १३ गते राति १२ बजेपछि प्रचारप्रसारमा रोक लगाइने छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे