
काठमाडौँ ,२० चैत | नागरिक उन्मुक्ति पार्टी ( नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले दुई अध्यक्षलाई पार्टीबाट निष्कासन गरेकी छन्। उनले गण्डकी र बागमती प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरेकी छिन् । काठमाडौंको अनामनगरस्थित पार्टी कार्यालयमा सोमबार डाकिएको केन्द्रीय समिति बैठकमा दुई समूहमा विभाजित नेता–कार्यकर्ता हात हालाहालको भएको थियो ।
जसका कारण पार्टी नै विभाजनको संघारमा पुगेको छ । बैठक चलिरहेका बेला नेताहरूलाई हातपात गरेको भन्दै अध्यक्ष श्रेष्ठले बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङ र गण्डकी प्रदेश अध्यक्ष राजन गुरूङलाई जिम्मेवारीबाट पदमुक्त गरेको बताएकी छन्। अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाटै निष्कासन गरेको पत्र पठाएकी छिन् ।
पत्रमा पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू रामलाल डगौरा थारु र रमेश विश्वकर्मालाई कुटपिट तथा अभद्र व्यवहार गरेकोले निष्कासन गरिएको उल्लेख छ । रेशम–रञ्जिताको फरक–फरक अडानले पार्टीभित्र विवाद रहेको छ । पार्टीका संरक्षक रेशम चौधरी सुदूरपश्चिममा कांग्रेस नेतृत्वकै सरकारलाई समर्थन गर्ने पक्षमा छन् भने पार्टी अध्यक्ष रहेकी पत्नी रञ्जिता श्रेष्ठ केन्द्रको नयाँ गठबन्धन अनुसार प्रदेशमा पनि जानुपर्ने अडानमा रहेकी छिन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे