
काठमाडौँ , २९ चैत । गणतन्त्रको पक्षमा नेकपा एमालेले आज शुक्रबार बुटवलमा प्रदेशस्तरीय प्रदर्शन गर्ने भएको छ। हाल राजावादी शक्तिहरू सक्रिय भइरहेका भन्दै तिनको विरोध र गणतन्त्रको समर्थनमा प्रदर्शन गर्न लागिएको हो। कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेललगायत शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।
एमालेले चैत २४ देखि ३० गतेसम्म सातवटा सहरमा प्रदर्शन गर्ने निर्णयअनुसार बुटवलमा पनि सभा आयोजना गरिएको हो। जिल्ला अध्यक्ष यज्ञ गैरेका अनुसार, देशको वर्तमान अवस्था बारे जनतालाई जानकारी दिने र गणतन्त्रको समर्थनमा जनजागरण फैलाउने उद्देश्यले यो सभा आयोजना गरिएको हो। रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभा हुने छ।
एमाले सचिव तथा लुम्बिनी इन्चार्ज पद्मा अर्यालले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने र प्रतिगामी गतिविधिको विरोधमा जनतालाई सचेत गराउने मुख्य उद्देश्य रहेको बताइन्। सरकारमै रहेका पार्टीले किन प्रदर्शन भन्ने प्रश्नमा उनले गलत प्रचारको खण्डन गर्दै स्पष्ट सन्देश दिन आवश्यक भएको जनाइन्।
सभाअघि बुटवलबाट भैरहवासम्म ५ हजार मोटरसाइकल र ५०० गाडीको र्याली निकालिने, जसले गणतन्त्रको पक्षमा जनमत प्रकट गर्ने अपेक्षा गरिएको एमालेले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे