
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ गणतन्त्र पक्षधर दलहरूको सर्वदलीय बैठक आह्वान गरेका छन्। सिंहदरबारमा साँझ ७ बजे बस्ने उक्त बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू सहभागी हुनेछन् भने राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समावेश नगरिने भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार राजावादी समूहले गरेको उग्र तथा हिंसात्मक प्रदर्शनपछि गणतन्त्र पक्षधर दलहरूलाई एकजुट बनाउने उद्देश्यले बैठक आयोजना गरिएको हो। सोही प्रदर्शनका क्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तथा सांसद एवं महामन्त्री धवलशमशेर जबरा पक्राउ परेका थिए। उनीहरूमाथि राज्यविरुद्ध अपराधको मुद्दा दायर गर्न आइतबार नै म्याद लिइएको छ।
प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएको जानकारी एमाले प्रमुख सचेतक महेश बर्तौलाले दिएका छन्। उनका अनुसार संसद्मा देखिएको गतिरोध हटाउने उद्देश्यले बैठक आयोजना गरिएको हो। यसैबीच, प्रमुख सचेतकहरूसँगको बैठकमा सभामुख देवराज घिमिरेले शुक्रबारको तीनकुने घटनालाई लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन्। उनले यस विषयमा संसद्मा बहस छलफल गरी संसद्लाई जीवन्त बनाउने वातावरण सिर्जना गर्न दलहरूलाई आग्रह गरेका छन्।
संसद्को अधिवेशन सञ्चालन नभएको अवस्थामा समेत सदन सञ्चालन गर्नुपर्ने भएकाले अवरोध कुनै पनि हालतमा उचित नहुने उनको धारणा रहेको छ। बैठकपछि बर्तौलाले प्रधानमन्त्री ओलीले सोमबार (१८ गते) को संसद् बैठकमा सम्बोधन गर्ने जानकारी दिएका छन्। संसद् अवरोध हटाउने विषयमा प्रधानमन्त्री ओली र विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच टेलिफोन संवाद भएको पनि उनले उल्लेख गरे। दुई नेताबीचको संवादपछि गणतन्त्र पक्षधर दलहरूको सर्वदलीय बैठक बस्न लागेको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे