
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारले सय दिनको अवधिमा भ्रष्टाचारको संरक्षणमा मात्रै ध्यान केन्द्रित गरेको बताएका छन्। बुधबार बिहान भएको नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरूसँगको भेटमा उनले सरकारका गतिविधिहरूमा सत्तारुढ दलका नेताहरूले समेत सन्तुष्टि नदिएको उल्लेख गरेका छन्।
दाहालले भनेका छन्, “सरकारको सय दिन पूरा भएको छ। गठनको समयमा जे आशंका गरेका थियौं, त्यसलाई पुष्टि गर्ने काम भएको छ। विपक्षी दलहरू मात्र होइन, नागरिक समाजका अगुवा र सत्तारुढ दलका नेताहरू पनि असन्तुष्ट छन्।” उनले यसबाट स्पष्ट भएको बताउँदै, सरकारले गर्नुपर्ने काममा चुकिरहेको र गर्न नहुने काममा मात्र ध्यान केन्द्रित गरेको निष्कर्ष निकालेका छन्।
उद्योगको बक्यौता उठाउने प्रयास गर्दा विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउने प्रयास, सामान्य प्राविधिक त्रुटिका आधारमा उपसभामुखलाई हटाउने प्रयास र प्रधानमन्त्रीले विवादित व्यवसायीबाट जग्गा दान लिने जस्ता घटनाहरूले सरकार भ्रष्टाचारको पक्षमा रहेको पुष्टि गरेको उनको भनाइ थियो।
प्रचण्डले सरकारका गलत रवैया रोक्न र गरिनुपर्ने काममा ध्यान दिन पाँच विपक्षी दलले ज्ञापनपत्र बुझाइसकेको पनि उल्लेख गरे। उनले राष्ट्रपतिलाई भेटेर सरकारका गतिविधिहरूको ध्यानाकर्षण गराउने योजना पनि बनाएको जानकारी दिए।
त्यस्तै, उनले अब आफ्नो पार्टीले सरकारका गलत क्रियाकलापको बिरोधमा सडकबाट आवाज उठाउने तयारी गरेको बताउँदै कात्तिक १० गते पार्टीको बागमती, विशेष र समन्वय प्रदेश समितिको आयोजनामा काठमाडौंमा खबरदारी सभा गर्ने जानकारी पनि दिए। उनले पार्टीको पक्षमा देशव्यापी सकारात्मक माहोल बन्दै गएको र बुद्धिजीवी संगठनलाई सोहीअनुसार सक्रियता बढाउन आग्रह गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे