
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। पोखरामा आयोजित अन्तर व्यवस्थापिका मञ्च, नेपालको पोखरा घोषणापत्र हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै उनले संघीयता, सुशासन, पारदर्शिता र विधिको शासनलाई सुदृढ बनाउन संसद्ले निर्णायक भूमिका खेल्नुपर्ने बताए।
उनले संसद्को प्राथमिक जिम्मेवारी सरकारलाई जिम्मेवार तथा जनताप्रति उत्तरदायी बनाउनु रहेको उल्लेख गर्दै संसद्ले कानूनी निर्माण, बजेट तथा नीति निर्धारणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए।
संसदीय अभ्यासलाई प्रभावकारी बनाउने क्रममा कतिपय महत्त्वपूर्ण कानूनहरू निर्माण हुन नसकेको तथा जनताका आवश्यकतासँग सम्बन्धित विषयहरूमा पर्याप्त छलफल हुन नसकेको गुनासो रहेको भन्दै उनले संसद्को नेतृत्वकर्ताहरूले जनताको आवाज सशक्त बनाउने पहल गर्नुपर्ने बताए।
संसद्ले पारदर्शी, समावेशी तथा दीर्घकालीन कानूनी संरचना निर्माण गर्नुका साथै संसदीय निगरानी प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। साथै, उनले संघीयताको सफल कार्यान्वयनका लागि संसद्भित्र सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।
समसामयिक चुनौतीहरूको सामना गर्न संसद्ले परम्परागत विधिहरूबाट मात्र अघि नबढी, नवीन नीति तथा समाधानको खोजी गर्नुपर्नेमा उनले जोड दिए। संसदीय सहकार्यबाट साझा समस्या समाधान गर्न सकिने भन्दै उनले संसद्लाई अझ प्रभावकारी बनाउनेतर्फ सबै पक्ष गम्भीर हुनुपर्ने धारणा राखे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे