
काठमाडौँ । निर्वाचन आयोगले फरक राजनीतिक दल वा उम्मेदवारको चुनावी प्रचारमा बाधा पुर्याए कडा कारबाही हुने स्पष्ट गरेको छ। आयोगका अनुसार कसैले पनि कुनै दल वा उम्मेदवारलाई प्रचार गर्न नदिन खोजे, अवरोध गरे, थुनछेक गरे वा अरूलाई त्यस्तो गर्न लगाएको पाइएमा दुई लाख रुपैयाँसम्म जरिवाना, तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा दल र उम्मेदवारको प्रचार–प्रसारलाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। यस क्रममा कतिपय ठाउँमा प्रचार कार्यक्रम बिथोलिएको, जुलुस र सभामा अवरोध गरिएको भन्दै उजुरी र गुनासो आएको आयोगको भनाइ छ। सञ्चारमाध्यमबाट पनि यस्ता घटनाबारे जानकारी पाएको आयोगले गम्भीर चासो व्यक्त गरेको छ।
निर्वाचन आचारसंहिताअनुसार कुनै पनि दल, उम्मेदवार वा तिनका कार्यकर्ताले अरूको सभा, जुलुस वा कार्यक्रममा बाधा पुर्याउन पाउँदैनन्। आयोगले सबैलाई कानून पालना गरी चुनावलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त बनाउन सहयोग गर्न आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे