
काठमाडौँ , ९ कात्तिक । काठमाडौंका चोकहरूमा ‘नो हर्न’ लेखिएका प्ले कार्डका साथ ट्राफिक प्रहरी अनावश्यक हर्नको प्रयोग नगर्न सवारी चालकलाई आग्रह गर्दैछन्। ध्वनि प्रदूषण कम गर्ने उद्देश्यले सुरु भएको ‘नो हर्न’ अभियानमा ट्राफिक प्रहरीले कडाइका साथ कारवाही गर्दै जनचेतना फैलाउने काम गर्दै आएको छ।
२०७४ सालको वैशाख १ गतेदेखि काठमाडौं उपत्यकामा ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरिएको थियो। यस अभियानले जनचेतनामा सुधार ल्याउने क्रममा गोष्ठी, कार्यक्रम, पर्चा वितरण र ‘नो हर्न’ स्टिकर टाँस्ने गतिविधिहरू गरेको छ। सुरुवातमा प्रभावकारी भए पनि हर्नको प्रयोगमा वृद्धि भएपछि ट्राफिक प्रहरीले कडाइ गरेको छ।
सवारी तथा यातायात व्यवस्थाका अनुसार, ध्वनी संकेत दिन निषेधित स्थानमा ध्वनी संकेत गर्नु कानून उल्लंघन हो। ट्राफिक प्रहरीका प्रमुख भरत बहादुर बोहराले, काठमाडौं उपत्यकामा १५ लाख सवारी साधनका कारण ध्वनि प्रदूषणले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको बताएका छन्।
गत वर्ष १०,१२३ सवारी साधनलाई अनावश्यक हर्नको लागि कारवाही गरिएको थियो, जबकि यस वर्ष १३,००० भन्दा बढीलाई कारवाही गरिएको छ। यसै कारण, ट्राफिक प्रहरीले चोक जक्सनमा ‘नो हर्न’ प्ले कार्ड सहित सचेतना अभिवृद्धि गर्ने कार्य गरिरहेको छ।
ध्वनि प्रदूषणले श्रवण क्षमतामा ह्रास, रक्तचाप वृद्धि, र हृदयघात जस्ता स्वास्थ्य समस्याहरू निम्त्याउने गर्दछ। ट्राफिक प्रहरीले सुरक्षा र स्वास्थ्यलाई ध्यानमा राख्दै, हर्न कम बजाउने संस्कारको विकास गर्न आग्रह गरेको छ। चालकहरूले धैर्यपूर्वक अनावश्यक हर्न नबजाएर सभ्य र अनुशासित सडक बनाउन सहयोग गर्नुपर्नेमा जोड दिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे