
काठमाडौं, जेठ ७ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर नेपाली कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको बताए छ । सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीलाई कुनै एक दलले दिएको समर्थन फिर्ता लिएपछि संसदमा विश्वासको मत लिने संवैधानिक व्यवस्था रहेको भन्दै संसद्को विधिअनुसार विश्वासको मत लिँदासमेत काँग्रेसले अवरोध गरेको बताए । गृहमन्त्री लामिछानेले सरकार व्यक्ति केन्द्रित नभई विषय केन्द्रित भएर सहकारी समस्या समाधान गर्नतिर लाग्ने र संसदीय समिति गठन गर्ने र सहकारी ठगलाई कारबाही गर्नुपर्ने माग जायज भएको तर व्यक्ति केन्द्रित माग सम्बोधन हुन नसक्ने बताए ।
गृहमन्त्री लामिछानेले आफूले संसद्मा बोल्दा प्रतिपक्षका नेताहरुलाई कुनै आरोप लगाउने र धम्काउने काम नगरेको बताए। उनले भने , ‘संसदीय समिति गठन गर, सहकारी ठगलाई कारबाही गर भनेर म पनि भन्छु । सरकारले सहकारी पीडितको न्यायका लागि द्रुतगतिमा काम गर्छ । प्रमुख प्रतिपक्षले व्यक्ति केन्द्रित भएर नाराबाजी गरिरहेको छ । हामी व्यक्ति केन्द्रित नभई सरकारले संवेदनशील र विषय केन्द्रित भएर समस्या समाधान गर्नतिर लाग्छौँ’ । गिरीबन्धु जग्गाको विषय आफूले नबिर्सेको उनको जिकिर थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे