
काठमाण्डौ ।नेपाल इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी (NIEC) ले आफ्नो २५औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म चलेको यस कार्यक्रममा दुई दशकभन्दा लामो यात्रा तय गर्दै विद्यार्थीहरूको जीवन परिवर्तन गर्ने संस्थाको योगदानलाई विशेष रूपमा प्रतिबिम्बित गरिएको थियो।
कार्यक्रमको उद्घाटन ग्यानन विश्वविद्यालयका पूर्व कार्यकारी निर्देशक टम ह्यासेट, कार्यकारी निर्देशक डा. जर्ज सिपोस र सहायक निर्देशक रतिश रविले संयुक्त रूपमा केक काटेर गरेका थिए। उद्घाटन समारोहले संस्था स्थापना कालदेखि शिक्षा क्षेत्रमा पुर्याएको योगदानलाई उत्सवमय बनाएको थियो।
बलुन उडाउने विशेष समारोहमा शैक्षिक परामर्श संघ नेपाल (ईक्यान) का अध्यक्ष शेषराज भट्टको नेतृत्वमा प्रमुख अतिथि तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा फेडेरेसन अफ एजुकेशनल कन्सल्टेन्सी इन्टरप्रेन्योर्स नेपालका अध्यक्ष राजेन्द्र बराल, ईक्यानकी उपाध्यक्ष गीता शर्मा, ईक्यानका पूर्व अध्यक्ष विष्णुहरि पाण्डे र महासचिव दीपकराज भुसाललगायतको उपस्थिति रहेको थियो।
दिनभर विभिन्न गतिविधिहरू आयोजना गरिएका थिए। अन्तर्राष्ट्रिय विश्वविद्यालयका प्रतिनिधिहरूसँगको परामर्श सत्रले विद्यार्थी र अभिभावकलाई उच्च शिक्षाका अवसरबारे जानकारी प्रदान गरेको थियो। रेडक्रससँग सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रमले संस्थाको सामाजिक उत्तरदायित्वलाई प्रतिबिम्बित गरेको थियो।
कार्यक्रममा ब्यान्ड नाइन र द लेफ्ट ह्याण्ड ब्यान्डको संगीतमय प्रस्तुतीले सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेको थियो। साथै, अन्तरक्रियात्मक प्रश्नोत्तर र खेलले सहभागीहरूलाई पुरस्कार वितरण गर्दै उत्साहजनक माहोल सिर्जना गरेको थियो।
कार्यक्रमको अन्त्यमा आयोजित नेटवर्किङ पार्टीले सहभागीहरूबीच आपसी सम्बन्ध प्रगाढ बनाउन मद्दत पुर्याएको थियो। NIEC ले आफ्नो २५औं वार्षिकोत्सवलाई दुई दशकभन्दा लामो गौरवमय यात्रा मात्र होइन, भविष्यका लागि शिक्षा परामर्शमा उत्कृष्टता प्रदान गर्ने प्रतिबद्धताको रूपमा पुनः पुष्टि गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे