
काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूले पत्रकारको संसद प्रवेश पास निलम्बनप्रति असन्तुष्टि व्यक्त गरेका छन् । संसद सचिवालयले दुई जना पत्रकारको पास निलम्बन गरेको निर्णयप्रति विभिन्न दलका सांसदहरूले आपत्ति जनाएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले संसद सचिवालयको यो कदमलाई अनुचित भन्दै आलोचना गरेका छन् । उनले पत्रकारले सोधेको प्रश्नलाई आधार बनाई पास निलम्बन गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएका छन् । खनालले १९३० को जर्मनीको इतिहास स्मरण गराउँदै लोकतान्त्रिक प्रणाली कमजोर बनाउने यस्ता कदमहरू खतरनाक हुने चेतावनी दिएका छन् ।
रास्वपाकै सांसद शिव नेपालीले वाक स्वतन्त्रता लोकतन्त्रको आधारभूत मान्यता भएको उल्लेख गर्दै सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दा पत्रकारको पास निलम्बन गरिनु लोकतान्त्रिक मूल्य–मान्यताको उल्लंघन भएको टिप्पणी गरे ।
सांसद हरि ढकालले संसद सचिवालयको निर्णयलाई गलत ठहर गर्दै उक्त निलम्बन तत्काल फिर्ता लिन माग गरेका छन् । उनले पत्रकारहरूलाई स्वतन्त्र रूपमा समाचार सम्प्रेषण गर्न दिनुपर्नेमा जोड दिएका छन् ।
संसद सचिवालयले पत्रकार प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद प्रवेश पास महासचिवस्तरीय निर्णयमार्फत निलम्बन गरेको थियो । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र केही सांसदहरूप्रति गलत शब्द प्रयोग गरेको आरोप लगाइएको छ । संसद सचिवालयले पत्रकारहरूको संसद प्रवेश पास महासचिवस्तरीय निर्णयबाट उपलब्ध गराउँदै आएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे