
काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेल भुटानमा आयोजित ४९औं सार्क फाइनान्स गभर्नर समूह (SAARC FINANCE Governors’ Group) बैठकमा सहभागी भएका छन्। असार २५ र २६ गते भुटानको पारो र थिम्पुमा सम्पन्न बैठकमा उनले नेपालको विद्युतीय भुक्तानी प्रणालीको विकास, अन्तरदेशीय भुक्तानीका प्रयास तथा मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी गराएका हुन्।
नेपाल राष्ट्र बैंकका अनुसार बैठकको उद्घाटन भुटानका अर्थमन्त्री ल्यान्पो लेके दोर्जीले गरेका थिए भने रोयल मनिटरी अथोरिटी अफ भुटानका गभर्नर याङ्चेन सोग्यलले स्वागत मन्तव्य व्यक्त गरेका थिए। बैठकको पहिलो दिन ‘डिजिटल भुक्तानी सञ्जाल र नवप्रवर्तनमार्फत क्षेत्रीय वित्तीय एकीकरणको प्रवर्द्धन’ विषयमा उच्चस्तरीय प्यानल छलफल आयोजना गरिएको थियो।
उक्त छलफलमा गभर्नर पौडेलसँगै भुटान र श्रीलंकाका केन्द्रीय बैंकका गभर्नर तथा भारतीय रिजर्भ बैंकका डेपुटी गभर्नर सहभागी थिए। गभर्नर पौडेलले नेपालमा पछिल्ला वर्षहरूमा विद्युतीय भुक्तानी प्रणालीको तीव्र विस्तार, डिजिटल वित्तीय सेवाको पहुँच तथा अन्तरदेशीय भुक्तानी प्रणालीलाई सुदृढ बनाउन गरिएका पहलहरूबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए।
बैठकको दोस्रो सत्रमा ‘अन्तरदेशीय भुक्तानी अन्तरआबद्धता (क्रसबोर्डर पेमेन्ट इन्टरअपरेबिलिटी) विस्तारका अवरोध र चुनौती’ विषयमा छलफल भएको थियो। सो क्रममा नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारीले नेपालको अन्तरदेशीय भुक्तानी प्रणालीको वर्तमान अवस्था र आगामी योजनाबारे प्रस्तुति दिएका थिए।
बैठकको दोस्रो दिन आयोजित गभर्नर समूहको औपचारिक सत्रलाई सम्बोधन गर्दै गभर्नर पौडेलले नेपालमा हाल राजनीतिक स्थायित्व कायम रहेको तथा बाह्य क्षेत्र र वित्तीय प्रणाली तुलनात्मक रूपमा सबल अवस्थामा रहेको बताए। यद्यपि अन्तर्राष्ट्रिय भू–राजनीतिक घटनाक्रमका कारण मूल्यवृद्धि र समग्र अर्थतन्त्रमा चुनौती कायमै रहेको उल्लेख गर्दै उनले ती चुनौती व्यवस्थापनका लागि केन्द्रीय बैंकहरूबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखे।
बैठकमा सहभागी अन्य सदस्य राष्ट्रका केन्द्रीय बैंकका गभर्नर तथा प्रतिनिधिहरूले पनि आ–आफ्नो देशको आर्थिक तथा वित्तीय अवस्थाबारे जानकारी गराएका थिए। साथै सार्क क्षेत्रमा अन्तरदेशीय भुक्तानी प्रणालीलाई थप प्रभावकारी बनाउने, डिजिटल वित्तीय पूर्वाधार विस्तार गर्ने र क्षेत्रीय वित्तीय सहकार्यलाई मजबुत बनाउने विषयमा सहभागीहरूले जोड दिएका थिए।
यसैगरी बैठकमा जलवायु वित्त तथा दिगो विकास, वित्तीय समावेशीकरण, सार्क सदस्य राष्ट्रबीच मुद्रा अदलाबदली (करेन्सी स्वाप) को सम्भावित संरचना, साझा अनुसन्धान तथा तथ्यांक प्रणाली, सार्क छात्रवृत्ति कार्यक्रम र आगामी कार्यदिशासम्बन्धी विषयमा समेत विस्तृत छलफल भएको राष्ट्र बैंकले जनाएको छ।
भुटान भ्रमणका क्रममा गभर्नर पौडेलले भुटानका अर्थमन्त्री ल्यान्पो लेके दोर्जीसँग द्विपक्षीय भेटवार्ता समेत गरेका थिए। उक्त भेटमा आपसी आर्थिक तथा वित्तीय सहकार्य विस्तारका विषयमा विचार आदानप्रदान भएको बताइएको छ।
बैठकमा नेपालका तर्फबाट भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारी, गभर्नर कार्यालयका निर्देशक शरणकुमार अधिकारी तथा उपनिर्देशक स्वेच्छा शाक्य सहभागी थिए। बैठकमा सहभागिता जनाएपछि गभर्नर पौडेल असार २८ गते स्वदेश फर्किएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
सार्क फाइनान्स दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रका केन्द्रीय बैंकका गभर्नर तथा अर्थ सचिवहरूको क्षेत्रीय सञ्जाल हो। सदस्य राष्ट्रबीच समष्टिगत आर्थिक नीति, वित्तीय स्थायित्व र क्षेत्रीय सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले सन् १९९८ मा यसको स्थापना गरिएको थियो। सन् २००२ मा काठमाडौंमा सम्पन्न ११औं सार्क शिखर सम्मेलनले सार्क फाइनान्सलाई औपचारिक मान्यता प्रदान गरेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे