
काठमाडौँ, २४ चैत । काठमाडौँ उपत्यकामा पछिल्लो एक हप्ता देखि वायु प्रदूषणको स्तर अति अस्वस्थकर रहेको छ । आइक्यू एअरले आइतबार बिहान गरेको मापनअनुसार काठमाडौं उपत्यका संसारको दोस्रो सबैभन्दा प्रदूषित शहरको रूपमा चिनिएको छ । हाल काठमाडौं उपत्यकाको ‘एयर क्वालिटी इन्डेक्स’ (एसीआई) २११ रहेको छ, जुन वायु प्रदूषणको उच्च स्तर र अति अस्वस्थकर मानिन्छ । यस सन्दर्भमा भारतको दिल्ली २९० एक्यूआईसँग पहिलो स्थानमा रहेको छ भने पाकिस्तानको लाहोर १९९ एक्यूआईसँग तेस्रो स्थानमा छ ।
लामो समयसम्म पानी नपर्नु, नेपालका विभिन्न जङ्गलहरूमा लागेको डढेलो र तिनीहरूबाट फैलिएको धुवाँका कारण काठमाडौंको आकाशमा धुलो थुप्रिएर वायु प्रदूषणको स्तर बढेको हो । विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार, ० देखि ५० सम्मको एक्यूआई स्तरलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ, तर काठमाडौंको हालको वायु गुणस्तर सूचकांक यसभन्दा धेरै उच्च छ ।
यस सन्दर्भमा स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाको वायु खतरनाक अवस्थामा रहेको भन्दै जनतालाई सतर्कता अपनाउन आग्रह गरेको छ । साथै, अनावश्यक रूपमा घरबाट बाहिर ननिस्कन र निस्कनै पर्ने भए मास्कको प्रयोग गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे