
काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले हालै तीनकुनेमा भएको घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्। सोमबार प्रतिनिधि सभामा सम्बोधन गर्दै उनले “राजसंस्था पुनःस्थापनाको चर्चा गर्नेहरूले आफ्नो अभिप्राय स्पष्ट पार्न आवश्यक छ” भन्ने धारणा राखेका थिए।
प्रधानमन्त्रीको सम्बोधनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले कडा आपत्ति जनाएका थिए। विशेष रूपमा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको अभिव्यक्तिलाई असंसदीय भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्। उनले प्रधानमन्त्रीले पूर्वराजा शाहप्रति ‘कथित स्वागत’ शब्द प्रयोग गरेको उल्लेख गर्दै, त्यसलाई अपमानजनक तथा घोचपेचपूर्ण भाषा भएको दाबी गरेका थिए।
सांसद शाहीले संसद् नियमावली २०७९ को नियम २१ अनुसार कुनै पनि सदस्य वा व्यक्तिलाई होच्याउने वा असंसदीय भाषा प्रयोग गर्न नपाइने व्यवस्था उल्लङ्घन भएको तर्क राख्दै, प्रधानमन्त्रीका शब्दहरू संसद्को रेकर्डबाट हटाइनुपर्ने बताएका छन्। साथै, उनले नियम २६ र नियम २१ को उपनियम ‘घ’ अनुसार कसैलाई अपमान गर्ने वा कटाक्ष गर्ने शब्दावली प्रयोग गर्न नपाइने कानुनी प्रावधान उल्लेख गरेका छन्।
प्रधानमन्त्री ओलीको सम्बोधनपछि राप्रपा सांसदहरूले विरोध जनाउँदै संसद्मा केहीबेर तनाव सिर्जना गरेका थिए। शाहीले प्रधानमन्त्रीको भाषा अस्वीकार्य रहेको जिकिर गर्दै उभिएरै आपत्ति जनाएका थिए।
प्रधानमन्त्री ओलीले भने, “संविधानको उल्लङ्घन कुनै पनि हालतमा स्वीकार्य हुँदैन। अपराधजन्य घटनामा कोही पनि उन्मुक्ति पाउन सक्दैन,” भन्दै पूर्वराजालाई लक्षित गर्दै “तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी उहाँले लिनुपर्छ” भन्ने धारणा राखेका थिए।
संसद्मा उत्पन्न तनावका बीच प्रधानमन्त्रीको अभिव्यक्तिप्रति राप्रपा सांसदहरूको असहमति कायमै रहेको देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे