
काठमाडौँ, १५ फागुन – राजनीतिक दलहरूले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि आफ्नो आम्दानी र खर्चको विवरण निर्वाचन आयोगमा पेश गरेका छन्। आयोगका अनुसार, नेकपा (एमाले) सबैभन्दा धनी दलको रुपमा रहेको छ, जबकि नेपाली कांग्रेस निरन्तर दुई वर्षदेखि घाटामा परेको छ। नेकपा (माओवादी केन्द्र) को आम्दानीमा गिरावट आएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले आम्दानीको दोब्बर खर्च गर्दा घाटामा गएको छ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार, प्रत्येक राजनीतिक दलले आर्थिक वर्ष समाप्त भएको माघ महिनाभित्र आयव्ययको लेखा परीक्षण गरेर आयोगमा प्रतिवेदन बुझाउनु पर्ने प्रावधान रहेको छ। यस वर्ष माघ महिनासम्म ८८ राजनीतिक दलहरूले लेखा परीक्षण प्रतिवेदन बुझाएका छन्।
आयोगमा बुझाइएको विवरण अनुसार, नेकपा (एमाले) ले आर्थिक वर्ष २०८०/८१ मा १४ करोड ७९ लाख रुपियाँ आम्दानी गरेको छ। गत वर्ष करिब दुई करोड ६२ लाख रुपियाँ घाटामा रहेको यस पार्टीले यस वर्ष करिब सात करोड २८ लाख रुपियाँ बचतमा गरेको छ। नेकपा (एमाले) को आम्दानीको प्रमुख स्रोत कार्यकर्ताबाट संकलित सदस्यता शुल्क रहेको छ, जसबाट यस दलले ११ करोड ५४ लाख रुपियाँ आम्दानी गरेको छ।
नेकपा (एकीकृत समाजवादी) ले गत वर्ष चार करोड २४ लाख रुपियाँ आम्दानी गरेको भए पनि खर्च त्यसभन्दा बढी थियो। पार्टीले यस वर्ष ९९ लाख रुपियाँ बचत गरेको छ।
नेपाली कांग्रेस भने घाटामा गएको छ, जसले आर्थिक वर्ष २०८०/८१ मा दुई करोड ३२ लाख रुपियाँ घाटा व्यहोरेको छ। कांग्रेसको आम्दानीको प्रमुख स्रोत चन्दा र सहयोग रहेको छ, जसबाट यसले १ करोड ७३ लाख रुपियाँ संकलन गरेको छ।
नेकपा (माओवादी केन्द्र) को आम्दानी यस वर्ष घटेर एक करोड ८६ लाख रुपियाँ पुगेको छ। यस दलले २०७९/८० मा तीन करोड ४८ लाख रुपियाँ आम्दानी गरेको थियो र हालको वर्षमा मात्र २४४३ रुपियाँ बचत भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले दुई वर्षमा आम्दानीको दोब्बर खर्च गरेको छ र करिब १ करोड ६९ लाख रुपियाँ घाटामा गएको छ।
आव २०७९/८० मा कर्जा तथा सापटीका आधारमा पार्टी सञ्चालन गरेको जनमत पार्टीले यस वर्ष सबै सापटी र कर्जा फिर्ता गरेको छ र एक करोड १८ लाख रुपियाँ आम्दानी गरेको छ।
यस वर्ष ११५ दल दर्ता भएका मध्ये २७ दलले आयोगमा आफ्नो आर्थिक विवरण बुझाएका छैनन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे