
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले युवा वर्गको समग्र विकासका लागि सरकार पूर्ण सहयोग गर्न प्रतिबद्ध रहेको बताए। सैनिक मञ्च टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दल (एनसिसी) को सिसं. १९ सिनियर डिभिजन तालिमको दीक्षान्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी’ भन्ने उक्ति आत्मसाथ गर्दै चन्द्र र सूर्य अंकित झण्डाप्रति सदैव अनुशासन राख्न सक्ने युवाहरुको आवश्यकता राष्ट्रलाई रहेको बताए।
प्रधानमन्त्री ओलीले भने, “तपाईंहरुको कर्तव्य केवल तपाईंका अभिभावकका लागि मात्र नभइ समाज र राष्ट्रको लागि पनि छ। उत्कृष्ट समाज निर्माणको लागि मनोबल उच्च राख्नु, नेतृत्वको विकास र अनुशासन पालनासँगै राष्ट्रप्रतिको कर्तव्य बुझ्न जरुरी छ।” उनले दीक्षित छात्रा÷छात्रालाई देशभक्ति र समर्पणका साथ राष्ट्रको विकासमा योगदान पुर्याउन आग्रह गरे।
कार्यक्रममा रक्षामन्त्री मानवीर राई, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, प्रधानसेनापति अशोकराज सिग्देल र काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोललगायत प्रमुख व्यक्तिहरूको उपस्थिति थियो। एनसिसीले युवाहरुलाई अनुशासित र राष्ट्रप्रति समर्पित नागरिक बनाउने उद्देश्यका साथ काम गर्दै आएको छ। यस आर्थिक वर्षमा सात हजार सात सय चार छात्रा÷छात्राले तालिम पूरा गरेका छन्, र आगामी वर्ष ११ हजार पाँच सय ५० पुर्याउने लक्ष्य राखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे