
भक्तपुर, २७ फेब्रुअरी – महाशिवरात्रिका अवसरमा बुधबार केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा ६० हजारभन्दा बढी भक्तजनले पूजा र दर्शन गरेका छन्। सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित उक्त मन्दिरका संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतका अनुसार, मन्दिरको चारै ढोका बिहान ४ बजेदेखि खुला गरि भक्तजनलाई महादेवको शिलामै पूजा गर्न सुविधा प्रदान गरिएको थियो।
यस अवसरमा भक्तजनलाई पूजा सामग्रीसहित पञ्चस्नानको व्यवस्था गरिएको थियो। पूजा कार्यक्रम नेपाली र भारतीय भक्तजनले मिलेर सम्पन्न गरेका थिए।
बुधबार रातभर मन्दिर परिसरमा धुनी बाल्ने, मध्यराति विशेष पूजा गर्ने र बिहान ४ बजे साधुसन्तका लागि पूजाको विशेष व्यवस्था गरिएको थियो। महासचिव बस्नेतका अनुसार, शिवरात्रिका अवसरमा तीन प्रमुख साधुसन्त र बाबाहरुलाई ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरी दक्षिणा, धोती र कम्बल प्रदान गरिएको छ। यसै गरी, साधुसन्तलाई बिहान ११ बजे भोजन गराएर विदा गरिने कार्यक्रम तय गरिएको छ।
यसै दिन, प्रसिद्ध आशापुरी मन्दिरमा २५ हजारभन्दा बढी भक्तजनले पूजा तथा दर्शन गरे भने साँगाको अग्लो कैलाशनाथ महादेव मन्दिरमा करिब १४ हजारले पूजा र दर्शन गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे