
काठमाडौँ, जेठ १३ । सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश ९टीओआर० टुङ्गो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच आज बैठक बस्ने भएको छ । शनिबारको बैठकमा उक्त विषयमा टुङ्गो लाग्न नसकेपछि बैठक आज बस्ने तय भएको हो । शनिबार पनि कार्यदल स्तरमा छलफल पछि प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुको बैठक बसेको थियो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत सहभागी थिए । सहमहामन्त्री परियारले छलफल सकारात्मक भए पनि टुङ्गोमा पुर्याउने बाँकी काम शीर्ष नेताबीचको बैठकले गर्ने बताए । हिजो निष्कर्षविहीन भएको बैठक आज फेरि बस्दैछ ।
हिजो बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षले आ–आफ्ना अडान नछाडेपछि सहमति जुट्न सकेको थिएन । सत्ता पक्षले छानबिन समितिको कार्यादेशमा गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्न नमिल्ने भनेको छ भने विपक्षी दलले नाम उल्लेख नगरी छानबिन समिति बनाउनुको अर्थ नहुने भन्दै आएको छ ।
कांग्रेसले बजेट अधिवेशन सुरु भएयताका सबै बैठकमा संसद् अवरुद्ध पार्दै आएको छ । कार्यदलले सहमति नजुटाए आज पनि संसद् अवरुद्ध पार्ने कांग्रेसको तयारी छ ।
कार्यदलमा कानूनमन्त्री गिरी, एमाले प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस सहमहामन्त्री जीवन परियार, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खनाल सदस्य छन् । यस्तै, कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की पनि कार्यदलको बैठकमा सहभागी भइरहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे