
काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिस्ट आन्दोलनबारे आफ्नो पार्टीको धारणा स्पष्ट रहेको बताएका छन्। नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताका लागि आह्वान गरेपछि विप्लवले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिएका हुन्।
उनले कम्युनिस्ट आन्दोलनलाई तीन आधारमा अघि बढाउनुपर्ने बताएका छन्। पहिलो, सबै कम्युनिस्ट पार्टीहरूबीच मोर्चा र सहकार्य आवश्यक रहेको उनको भनाइ छ। दोस्रो, सिद्धान्त, कार्यदिशा, कार्यक्रम र उद्देश्य मिल्ने पार्टीसँग मात्र एकता सम्भव हुने उनले उल्लेख गरेका छन्। तेस्रो, माले–माओवादी धाराको पार्टीलाई अझ सुदृढ बनाउनु नै मुख्य लक्ष्य भएको उनको भनाइ छ।
विप्लवले चुनावी मोर्चामासमेत सहकार्य गर्न नमान्ने पार्टीले एकताको कुरा गर्नु पुरानो र असफल राजनीति भएको टिप्पणी गरेका छन्। उनका अनुसार यस्तो एकताको चर्चा भ्रम फैलाउने प्रयास मात्र हो, जसले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउँछ।
उनले माओवादी पार्टी नै समाजवादी लक्ष्यतर्फ अघि बढिरहेको र एकता तथा परिवर्तनको केन्द्र भएको दाबी गरेका छन्। विगतका विभिन्न मोर्चाका अनुभवका आधारमा माओवादी आन्दोलन भविष्यमा अझ बलियो हुने विश्वास व्यक्त गर्दै, समयले नै आफ्नो भनाइ सही सावित गर्ने विप्लवले बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे