
काठमाडौं,जेठ २० । सहकारी ठगी प्रकरणमा पक्राउ परेका चन्द्रबहादुर लामा ( सीबी) लाई प्रहरीले सार्वजनिक गरेको छ। आइतबार पत्रकार सम्मेलन गरेर प्रहरीले काभ्रे घई भई ललितपुरको बालकुमारीस्थित वेष्टर्न अपार्टमेन्टमा बसोबास गर्ने ४९ वर्षीय तामाङलाई सार्वजनिक गरेको छ।
कान्तिपुर सहकारीको पूर्वअध्यक्षका रुपमा करिब डेढ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा लामा पक्राउ परेका हुन् । काभ्रे तेमाल गाउँपालिका–५ घर भएका ४९ वर्षीय लामा ललितपुर बालकुमारीस्थित वेस्टर्न अपार्टमेन्टमा बस्दै आएका थिए । उनीमाथि कान्तिपुर र पशुपति सेभिङ एण्ड क्रेडिट को(अपरेटिभमा अध्यक्ष भएको बेला सहकारीको रकम अपचलन गरेको आरोप लागेको छ। गत फागुन २० गते लामाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
लामाको साथबाट प्रहरीले चार थान मोबाइल र ६ थान सिमकार्ड बरामद गरेको छ । उनले सहकारीको रकम अपचलन गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेको आरोप रहेको छ । कान्तिपुरका ८५२ जनाले १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ फिर्ताको माग दिएर लामाविरुद्ध उजुरी हालेका छन् ।
यो थपिने क्रममा छ । त्यस्तै पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ विरुद्ध समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको छ । पशुपति सेभिङविरुद्धमा १२ करोडको हाराहारीमा बिगो मागदाबी रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे