
काठमाडौं । राजधानीको चर्चित सुपरमार्केट भाटभटेनीले लुटपाटको प्रयास विफल पार्दै अदम्य साहस प्रदर्शन गर्ने आफ्ना सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई विशेष सम्मान प्रदान गरेको छ।
गत चैत १५ गते एक समूह लुटपाटको प्रयास गर्दै सुपरमार्केटमा प्रवेश गरेपछि पराजुलीले बहादुरीपूर्वक उनीहरूलाई सामना गर्दै खेदाएका थिए। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको प्रशंसा व्यापक रूपमा गरिएको थियो।
मंगलबार भाटभटेनी सुपरमार्केटले आयोजना गरेको विशेष कार्यक्रममा संस्थाका अध्यक्ष मिन बहादुर गुरुङले पराजुलीलाई नगद ५ लाख १ हजार १११ रुपैयाँ, एक फुली (सुनको गहना) तथा पाँच ग्रेड बढुवासहित सम्मान प्रदान गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले पराजुली जस्ता इमानदार र साहसी कर्मचारीहरू संस्था तथा समाजका लागि गहना भएको उल्लेख गर्दै, उनको योगदान अतुलनीय रहेको बताएका थिए।
२२ वर्षदेखि भाटभटेनीमा कार्यरत पराजुलीले आफ्नो कर्तव्यप्रति कहिल्यै सम्झौता नगरेको बताउँदै, कुनै पनि परिस्थितिमा डर नमानेको उल्लेख गरेका छन्। सुरक्षागार्डका रूपमा आफ्नो जिम्मेवारीबारे सचेत रहेको उनले बताए।
भाटभटेनी सुपरमार्केट व्यवस्थापनले सुरक्षामा उत्कृष्टता प्रदर्शन गर्ने अन्य सुरक्षागार्डहरूलाई पनि पुरस्कार प्रदान गर्ने योजना बनाएको जनाएको छ।
पराजुलीको बहादुरीको समाचारले नेपाली समाजमा इमानदार र निडर श्रमिकहरूको सम्मान गर्नुपर्ने सन्देश दिएको छ
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे