
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक पदमा गरिएको नियुक्ति र बर्खास्तीसम्बन्धी दुई फरक रिट निवेदन एउटै इजलासमा परेको छ। सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा दुवै मुद्दाको पेसी तोकिएको छ, जहाँ कुलमान घिसिङको मुद्दा दोस्रो नम्बरमा तथा हितेन्द्रदेव शाक्यको रिट पाँचौँ नम्बरमा सूचीकृत गरिएको छ।
सरकारले गत सोमबार कुलमान घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकमा पुनः नियुक्त गरेको थियो। मंगलबार शाक्यले पदबहाली गरिसकेपछि बुधबार घिसिङ सर्वोच्च अदालत पुगेका थिए।
यसअघि चार वर्षअघि पनि शाक्यलाई हटाएर घिसिङलाई नियुक्त गरिएको थियो, जुन विषयमा सर्वोच्चमा मुद्दा विचाराधीन नै रहेको अवस्थामा हाल पुनः गरिएको नियुक्तिलाई लिएर विवाद उत्पन्न भएको छ। शाक्यले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गर्दै आफ्नो पहिलाको मुद्दा टुंगो लगाइदिन माग गरेका छन्।
कुलमान घिसिङले आफूलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न तथा पुनर्बहाली गर्न आदेश दिन आग्रह गर्दै अन्तरिम आदेशको माग गरेका छन्। दुवै पक्षका मुद्दा एउटै इजलासमा परेकोले सुनुवाइ प्रक्रिया लम्बिन सक्ने सम्भावना रहेको कानुनी विश्लेषकहरूले बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे