
काठमाडौँ १५ असार – असार १५ अर्थात्, राष्ट्रिय धान दिवस, आज खेतका गराभरी धान रोपेर मनाइँदै छ । सरकारले आज उत्सवको रुपमा विशेष कार्यक्रमको आयोजना गरी २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै छ ।
२०६१ सालदेखि नेपालले असार १५ गतेलाई राष्ट्रिय रोपाई महोत्सव एवं धान दिवसको रुपमा मनाउन थालेको हो । यस दिन किसानहरु मात्रै होइन, कहिल्यै हिलोमा नजानेहरु पनि हिलो खेल्न हौसिने गर्दछन् । असारे भाकासंगै एकआपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गरी रोपाई गर्ने दिन पनि हो असार १५ । असार १५ मा खेतमा धान रोपाइँ गरेपछि दही चिउरा खाने चलन पनि छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् ।
यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे