
एजेन्सी | बंगलादेशको राजधानी ढाकाको सबैभन्दा ठूलो कपडा बजार बंगाबजारमा भीषण आगलागी भएको छ । यहाँ ६ हजारभन्दा बढी कपडा पसल छन् । अहिलेसम्म दुई दर्जनभन्दा बढी पसल जलेर नष्ट भएको बताइएको छ । सेना र वायुसेनाले राहत र उद्धारको कमाण्ड लिएका छन्। अहिलेसम्म कुनै हताहतीको खबर आएको छैन ।
समाचार अनुसार राजधानी ढाकाको प्रसिद्ध कपडा बजारमा आज बिहान ६ः१५ बजे आगलागी भएको हो । यो बजारको नाम बङ्गबजार हो। आगलागीले केही बेरमै ठूलो रुप लियो । धेरै तस्विर र भिडियोहरु बाहिर आएका छन् । आगो निभाउन ४७ वटा दमकलले काम गरिरहेको दमकलका एक अधिकारीले जानकारी दिए ।
अहिले आगलागीको कारण खुल्न सकेको छैन ।बंगलादेशी मिडियाका अनुसार आगो अझै नियन्त्रणमा आउन सकेको छैन । ढाका ट्रिब्युनको रिपोर्टका अनुसार दमकल विभागका अधिकारीहरूले आफूसँग आगो नियन्त्रण गर्न पर्याप्त पानी नभएको बताएका छन्। अहिले पानीको वैकल्पिक स्रोतका रूपमा नजिकैका भवनबाट पानी लिइएको उनले बताए । बीडी न्यूजका अनुसार आगो नियन्त्रण र उद्धारका लागि सेना र वायुसेनाले कमाण्ड लिएको छ । आगो नियन्त्रणमा लिन आकाशबाट पानी छर्किएको छ । आगलागीका कारण पुरै क्षेत्रमा धुवाँको मुस्लो निस्किरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे