
काठमाडौँ, ८ बैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा डा. टेड्रोस आज दिउँसो सवा १२ बजे नेपाल आइपुग्नुभएको हो ।
तीन दिने भ्रमणका लागी नेपाल आएका उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललगायतका अधिकारीले स्वागत गरे ।
महानिर्देशकका साथ डब्ल्यूएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरू पनि सम्मिलित छन् ।
नेपाल रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्नुहुनेछ । त्यसैगरी उहाँले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नुहुने छ । यस्तै नेपालमा रहँदा उहाँले नेपाल सरकारका उच्च अधिकारीसहित डब्ल्यूएचओका नेपालमा रहेका प्रतिनिधि र संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिसँग पनि छलफल गर्नुहुने छ ।
भ्रमणकै क्रममा उहाँले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्नुहुने कार्यक्रम छ ।
उहाँ वैशाख १० गते नेपालबाट फर्कनुहुने कार्यक्रम रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे